Thursday, June 26, 2008

What is Poverty ? (गरीबी के हो ?) "३"

        मेरो श्रीमानले कहिलेकाँही काम पाउनु हुन्नथ्यो तर त्यतिबेला कमाएको जती सबै अहिले जस्तै खानेकुरामै खर्च हुन्थ्यो । तीन बर्षसम्म तीनवटा बच्चा जन्माई हामीले कसरी गुजारा गर्‍यौ भन्ने कुरा मलाई थाहा छैन, तर जसरी तसरी बाँच्यौ । म तिमीलाई केही कुरा भन्छु, अन्तिम सन्तान भएपछि मैले बैबाहिक सम्बन्ध समाप्त गरे । सम्बन्ध राम्रो नै भएको थियो, तर यस्तो फोहोरमा म अरू बच्चा हुर्काउन सक्थे त ? कुनै पनि प्रकारको परिवार नियोजनको प्रयोग गर्न कति खर्च लाग्छ भनेर तिमीले कहिलै सोचेका छौ ? जाने दिन मलाई छोडेर मेरा श्रीमान जाँदै हुनुहुन्थ्यो भन्ने कुरा थाहा थियो, तर हाम्रो बिचमा बिदाबादी भएन । यो भद्रगोलबाट उम्केर वहाँ कतै जानुभयो होला भन्ने मेरो आशा छ । हामी संगसंगै बसेर दिक्क लाग्दो जीवन बिताउने कुरा वहाँले सोच्न सक्नुभएन ।
        त्यतिबेला नै मैले मद्दत माग्न हात फैलाउनु परेको थियो । मैलेसहयोग पाएँ, कति पाएँ तिमीलाई थाहा छ ? चारजनाको लागि महिनाको अठहत्तर डलर पाएँ र पाउछु, मैले पाउन सक्ने सहयोग सधैं यत्ति नै हो । अब मसँग साबुन्, सियो, धागो, तातो पानी, एस्पिरिन औषधी, जुकाको औषधी, हातमा दल्ने क्रीम, श्याम्पू किन नभएको हो भनेर थाहा पायौ । यि कुनै चिज पनि मैले आफ्नो जिन्दगीमा कहिले पनि प्रयोग गर्न पाउने छैन । त्यो किन भनेर तिमीले राम्ररी बुझ्न सक्छौ, महिनाको बिस डलर घर-भाडामा जान्छ, र बाँकी सबैजसो मकैको पिठो, र मकैको खाद्य, चामल, दूध र गेडागुडी आदी खानेकुरामा खर्च हुन्छ । बिजुलीको खपत न्यूनतम गर्ने सक्दो प्रयास गर्छु । बिजुलिमा बढी खर्च गरे खानेकुरको लागि ज्यादै कम बच्छ ।
        गरीबी भनेको अन्धकार भबिष्यतिर हेर्नु हो । तिम्रो छोराछोरी मेरा छोराहरूसँग खेल्दैनन् । त्यसो भएपछि मेरा छोराहरू अरू चोर केटाहरूसँग संगत गर्छन् । म उनिहरूलाई मेरो गरीबीको बारले घेर्नुको सट्टा झ्यालखानाको डन्डिभित्र घेरिएको देख्न सक्छु । अथवा उनिहरू स्वतन्त्र भएर रक्सी र नशालु औषधी खानेछन् र नशाको दास बन्नेछन् । अनि मेरी छोरी ? सबभन्दा राम्रो भइदिए, उनको जीवन मेरो जस्तै हुनेछ ।
        तर तिमी मसँग भनौला छोराछोरीलाई पढ्ने स्कूल छन् नि । छन्, स्कूल छन् । मेरा छोराछोरीसँग अतिरिक्त किताप, हुँदैन, पत्रपत्रीका हुँदैन, थप सिसाकलमका रंग हुँदैन, अथवा कागत हुँदैन र सबैभन्दा महत्वपूर्ण कुरा उनिहरुको स्वास्थ्य राम्रो छैन । उनिहरूको पेटमा किरा छ, उनिहरूलाई सरूवा रोग लागेको छ, गर्मी महिनाभरि उनिहरूको आँखा रातो हुन्छ । भईमा अथवा मसँग एउटै ओछ्यानमा उनिहरू राम्ररी सुत्दैनन् । उनिहरू भोकभोकै मर्दैनन्, मेरो अठहत्तर डलरले उनिहरूलाई बचाएर राखेको छ, तर उनिहरू कुपोषणका शिकार भएका छन । हो त, स्वास्थ्यको बिषयमा स्कूलमा पढाएको कुरा मलाई सम्झना छ । यसले धेरै फाईदा गर्दैन । कतैकतै थप सामाग्री बाँड्ने कार्यक्रम हुन्छ । यहाँ त त्यो पनि छैन । ज्यादै बढी खर्च पर्छ भनेर गाउँ बिकास समिति भन्छ । बिद्यालयमा दिउसो खाजा खाने कार्यक्रम छ । तर स्कूल जाने उमेर पुग्दा नपुग्दै उनिहरूको स्वास्थ्य खत्तम भैसक्नेछ ।

क्रमश....