Sunday, October 07, 2007

आस्थाको मृत्यु

मुक्तिनाथ घिमिरे "पथिक"

        उसले आस्थाको मन्दिर बनायो स्वच्छ मनको पवित्र केन्द्रमा भावना र विवेकपूर्ण अपेक्षित समभावले मन्दिर सिंगार्‍यो । प्राप्य सम्भावनाका समवेत फुलहरूबाट सम्झनालाई टपक्क टिप्यो र अजैविक आदर्शमय प्रतिरुप प्रतिमाको प्रतिष्ठान त्यहीँ गर्‍यो जहाँ ऊ वाञ्छित थिई । उसले ठानेन सर्बोत्कृष्ट मानवीय अहम् लाई निकृष्ट मानवीय अहम् ले कुल्चिनेछ, थिच्नेछ, दल्नेछ, बटार्नेछ, निमोठ्नेछ र अभिशप्त कुठारघातको बर्कोले घुम्लुङ्ग छोप्नेछ । उसलाई थाहा थियो तर्क, विवाद, नकारात्मक सोचाई प्रेमका साधन होइनन् न त भित्र नै । ऊ आशावादी मात्र होइन निर्विकल्प, निस्चिन्त थियो । उसले मन्दिर निर्माणमा र प्रतिमा प्रतिष्ठापनको महायज्ञमा आफूलाई सामेल गराएर जीवनमार्ग चौडा गराएको छ । अपार आनन्दको अनुभवसँगै उसले गर्ववोध गर्‍यो तर गर्व व्यक्त गरेन र आवश्यक पनि ठानेन ।
        समय बित्यो । उसका आशामा तुषारापात भएन । स्वर्णिम भविष्यको स्वर्गिक कामनालाई हार्दिक स्वागत गर्‍यो हृदयमा प्रवलित सम्झनामय भवनासँगै भित्तामा झुण्डिएको महेन्द्र विधाभूषणको ओजस्विता र सम्झनाको स्मित हाँसो समन्वित भएर एकाकर भए उसकै हृदयमा । उसले जरुरी ठानेन प्रेमले लपक्कै भिजेर पोखिनु । वस् उसले मात्र आदर्श आस्थाको मन्दिर बनायो र सम्झियो-कर्म गर तर फलको आशा नगर ।
        एक मधुर रात्रीको प्रथम प्रहरमा नारी नाके स्वरको कम्पन कर्णविवरमा ठोक्कियो एक दुर स्थानबाट । स्वर अपेक्षेत थियो तर स्वरको तात्पर्य अनपेक्षित मात्र होइन आकस्मिक पनि थियो । रातको शून्यतामा निष्पट कालबेलाको सूक्ष्म तर भयानक जानकारीले उसको संवेघ इन्द्रीय लाटा भए र उसले साँच्चै महसुस गर्‍यो आफ्नो भन्ने कोही नहुनु र सम्भावना पनि सम्झनाझैं स्खलित हुनु कति कठोर छ सहनलाई । उसले मात्र सम्झियो जीवन बाँच्नुको सार्थकता कसैले आफ्नो मान्नुमा छ । उसले सम्झनाको नाममा आँसु बगायो र श्रद्वाञ्जली दियो आस्थाको मृत्युलाई । सुन्दछु भूगोलपार्कको उत्तरपट्टी चौरस्तामा बसेर बर्बराइरहने एक अज्ञात विक्षिप्त युवक त्यही प्रतिभाशाली मन्दिर निर्माता थियो ।

- तरहरा-२८/४, सुनसरी