Monday, January 14, 2008

What is Poverty? (गरीबी के हो ?) "१"

- Jo Goodwin Parker

       के तिमी म सँग गरीबि के हो भनेर प्रश्न गर्छौ ? मैले भनेको कुरा सुन । यहाँ म मैली, गन्हाउने, भित्री लुगा ठीकसँग नलाएकी र तिम्रो नजिक आफ्नो सडेको दातँको दुर्गन्ध निकाल्दै बसेकी छु । म तिमीलाई आफ्नो कुरा भन्नेछु । मेरो कुरा सुन । दया नदेखाइकन सुन । तिम्रो दयाको मलाई केही काम छैन । कुरा बुझ्ने गरेर सुन । तिमी आफूलाई मेरो मैलो, थोत्रो, ठीक नहुने जुत्ता भित्र राख, अनि मेरो कुरा सुन ।
       गरीबी भनेको पत्येक बिहानी फोहोर र रोगको टाटो लागेको डस्नाबाट उठ्नु हो । तन्ना त च्यातेर धेरै कालदेखि सानो बच्चालाई लुगाइ दिने लगौंटिको रूपमा प्रयोग गरिदै आइएको छ । गरीबि भनेको कहिलै नछोड्ने दुर्गन्धमा बस्नु हो । पिसाप, अमिलो दुध्, र धेरै बेर पकाएको प्याजको कडा गन्धसँग मिसिएर कहिलेकाहीँ बिग्रेको खानेकुराको दुर्गन्ध आइराख्छ । प्याज सस्तो छ । यो दुर्गन्ध तिमीले सुँघ्यौ भने कसरी आयो तिमी पत्तै लगाउन सक्दैनौ । यो त घरबाहिरबाट आएको दुर्गन्ध हो । राती अन्धकारमा हिंडेर पर पुग्न नसक्ने केटाकेटीले गरेको दिशापिसापको दूर्गन्ध हो । बर्षौबर्ष "दूर्घटना"मा परेको डस्नाको दूर्गन्ध हो । धेरै दिनदेखि फ्रीज बिग्रेकोले गर्दा दुध अमिलो भएर आएको दूर्गन्ध हो, र फ्रीज बनाउन पैसा चाहिन्छ । यो सड्न लागेको रछानको दूर्गन्ध हो । यो फोहोर म गाड्न सक्थे, तर शावेल खोई ? शावेल किन्न पनि त पैसै चाहियो ।
       गरीबी भनेको थकित हुनु हो । म सधैं थकित हुन्छु । कान्छी छोरी पाउन अस्पतालमा भर्ना हुँदा मलाई डाक्टर नर्स भन्थे "पोषिलो आहार खान नसकेकोले गर्दा तिम्रो शरिरमा रगत कम छ, पेटमा जुकाहरू परेका छन र यो सबै अवस्था सुधार्न अप्रेशन गर्नुपर्छ ।" नम्र भएर उनिहरुको कुरा सुने - गरीबहरू जहिले पनि नम्र हुन्छन् । गरीबहरू अर्काले भनेको कुरा जहिले पनि सुन्छन् । आइरन चक्की अथवा पोषिलो खानेकुरा, अथवा जूकाको ओखती किन्न पैसा छैन भनेर उनिहरू कहिले पनि भन्दैनन् । अप्रेशन गर्ने विचार गर्दा पनि डर लाग्छ र यती खर्छ लाग्छ कि आँट गरें भनें पनि आँफैदेखि हाँसो उठ्थ्यो । छोराछोरी कसले हेर्ने ? अर्पेशन गरिसकेपछि तङ्ग्रीन धेरै समय लाग्छ । मेरा तीनवटा सन्तान छन् । एक पटक पहिला जागिर खान जाँदा हजुरआमा कहाँ छाडेर गएको थिएँ, घर फर्किँदा त सानो नानीलाई झिंगाले छोपेको रहेछ र म गएदेखि दिशापिसाप छेक्न बांधेको लगौंटी फेरी दिएको रहेनछ । सुकिसकेको टालो निकाल्दा, बच्चाको मासुको चोक्टै टाँसिएर आयो । मेरो अर्को बच्चा फुटेको सिसाको धारिलो टुक्रासँग खेलिराखेको रहेछ र सबभन्दा ठूलो बच्चा चाँही पोखरीको डिलमा एक्लै खेलिराखेको रहेछ । म हप्ताको बाइस डलर कमाउँथे र राम्रो नर्सरी स्कूलमा राख्ने हो भने तीनवटा बच्चाको लागि बिसा डलर तिर्नुपर्थ्यो । मैले जागिर छोडिदिएँ ।
        गरीबी भनेको फोहोर हो । सफा लुगा लगाएर सफा घरबाट निस्कदा तिमी भन्छौ, "जो पनि सफा भएर बस्न सकिहाल्छ नि ।" पैसा नभइकन घर चलाउनु पर्दा के हुन्छ भनेर मलाई व्याख्या गर्न देऊ । विहानको खाजामा म आफ्ना केटाकेटीलाई तेल नहाली भुटेको मकैको पिठो ख्वाउछु अथवा तेल र अन्डा नहालेको कर्नब्रेड दिन्छु । यसो गर्दा धेरै थाल भाँडा प्रयोग गर्न पर्दैन । जेजती भएका भाँडा म साबन नलगाई चिसो पानीले माझ्छु । सबभन्दा सस्तो साबुनमा खर्च गर्ने पैसाले बच्चाको टालो किन्न पुग्छ । मेरो हात हेर, कति फुटेको, चिरर रगत आउने । एकपटक आफ्नो हात र टालोले निकालेको बच्चाको फोकामा लगाउन एक भ्यास्लिन किन्ने बिचारले दुई महिनासम्म पैसा बचत गरें । पुग्ने पैसा जम्मा भएपछि बजार जाँदा त यसको मोल दुई सेन्ट बढीसकेको रहेछ । बच्चाले र मैले बिना भ्यास्लिन त्यतिकै दु:ख पाउनु पर्‍यो । प्रत्येक दिन चिरिएको दुखेको हातले चिसो पानी र कडा साबुन सहन सक्छ भनेर निर्णय गर्नुपर्छ । तर तिमी सोधौला तातो पानी किन प्रयोग नगर्ने ? पानी तताउन पैसा लाग्छ । दाउराको आगोमा तताए पनि पैसा पर्छ । बिजुलिको हिटरमा तताए पनि पैसा पर्छ । तातो पानी मेरो लागि बिलासिताको बस्तु हो । बिलासिताको बस्तु प्रयोग गर्ने मेरो क्षमता छैन । म कति तरूनी छु भनेर तिमीलाई भनें भने तिमीलाई अचम्म लाग्छ भन्ने कुरा मलाई थाहा छ । म ज्यादै बुढी देखिन्छु । धेरैबेरसम्म लुगा धुँदा निहुरिनु परेकोले अरू काम कहिले गर्ने भन्ने संझना नै हुँदैन । प्रत्येक रात स्कूल जाने बच्चाले लगाएको स-साना लुगा भोली बिहानसम्म सुक्ला भन्ने आशा लिएर धोएको हुन्छु ।